बाँके : नेपालगञ्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा प्रवाह गर्दै आएका छन् । वडा नं ४, ५, ६, ७, ८, ९ र ११ गरी सात वडा कार्यालयले अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका हुन् । वडा नंं १४ र २० ले आफ्नै जीर्ण भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए ।
उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ ।,’ उनले भने, ‘वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उपमहानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ ।,’
नगरप्रमुख विष्टका अनुसार, वडा नं ६, ९, १४ र २० को वडा कार्यालय भवन निर्माण भइरहेको छ । वडा कार्यालय भवन निर्माणका लागि २० लाखका दरले बजेट निकासासमेत गरिसकिएको छ । नेपालगञ्ज–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ आनन्दनगर टोलमा वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए ।
उनले गत आवमा वडाको २५ लाख बजेट र बाँकी उपमहानगरपालिकाले व्यवस्थापन गर्नेगरी निर्माणको काम सुरु गरिएको जानकारी दिए । यस आर्थीक वर्षकोे अन्त्यसम्ममा वडा कार्यालय भवन सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उनको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा उपमहानगरपालिकाको भवनसमेत आगजनी गरी क्षतिग्रस्त गरेपछि हाल अस्थायी संरचनाबाट सेवा प्रवाह भइरहेको छ । उपमहानगरपालिकाका महाशाखाले क्षतिग्रस्त भवन र अस्थायी संरचना तयार गरेर सेवाप्रवाह सुरु गरेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।









